Logo

हल्ला धेरै, काम कम



काठमाडौँ, ३ चैत । सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्। सातायता प्रदेश र संघीय सरकारले उच्च सतर्कता र तयारी गरेको दाबी गरिरहे पनि व्यवहारमा त्यस्तो छैन।

भाषण र हल्ला जोडतोडले गर्ने तर स्वास्थ्य संस्थामा गर्ने तयारीमा ध्यान नदिने सरकारी शैलीले जुनसुकै बेला जोखिम निम्त्याउने चिकित्सक बताउँछन्। प्रदेश १ का ठूला अस्पतालमा सुविधासम्पन्न आइसोलेसन कक्ष तत्कालै बनाइने, स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री बन्दोबस्त गरिने, सीमानाकाहरुमा पर्याप्त स्वास्थ्यकर्मी र एम्बुलेन्स परिचालन गर्नेसहितको कार्ययोजना चार दिनअघि नै प्रदेश सरकारले सार्वजनिक गरेको थियो। तर नाकाहरुमा सतर्कताको त कुरै छाडौं, धरानको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानबाहेक अन्य अस्पतालमा स्वास्थ्यकर्मीका लागि सुरक्षाका कुनै सामग्री पठाइएको छैन।

प्रदेश १ स्वास्थ्य महाशाखा प्रमुख डा। सुरेश मेहताले सामग्री सबै अस्पतालमा पठाएको र उनीहरुले पाइसकेको दाबी गरे। तर कोसी अस्पताल प्रमुख संगीता मिश्रबाहेक अस्पतालका चिकित्सकले त्यस्ता सामग्री नपाएको बताएका छन्। उल्टै चिकित्सकले सरकारले भनेअनुसार तयारीमा ध्यान नदिएको गुनासो गरेका छन्। ‘हामीलाई आइसोलेसन कक्ष बनाउन कुनै समस्या छैन, यहाँ जति पनि बेड उपलब्ध हुन सक्छ’, नोबेल मेडिकल कलेज विराटनगरका निर्देशक डा. राजेश नेपालले भने, ‘तर अहिलेसम्म स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारबाट कुनै सामग्री आएको छैन। संक्रमित फेला परिहालेमा स्वास्थ्यकर्मी कसरी उपचारमा खटिने भन्ने समस्या छ।’ डा. नेपालका अनुसार उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि खुट्टादेखि टाउकोसम्म छोपिने खालको सुरक्षा सामग्री, विशेष खालको मास्क तथा अन्य उपकरण चाहिन्छ। तर आइतबार साँझसम्म नोबेल अस्पतालमा यी कुनै सामग्री उपलब्ध छैनन्। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्