काठमाडौं, ३ चैत्र । अन्तर्राष्ट्रिय बजारमा भारी मूल्य घटेको अवस्थामा नेपाल आयल निगमले नियमित मूल्य समायोजन गर्दा थोरैमात्र मूल्य घटाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको छ । हवाई इन्धनको मूल्य चार रुपैयाँ ५० पैसा घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य ९५ रुपैयाँ र हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम भएको छ ।
यसअघिको सूची अनुसार यसअघिको १५ दिनमा निगमले १८ करोड मुनाफा गरेको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ५० डलरको हाराहारीमा थियो । त्यसपछि ३४ डलर प्रति ब्यारलमा आइपुग्दा निगमको मूल्य पुरानै थियो । निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिको तुलनामा निकै कम मूल्य घटाएको हो । यसकारण उसले मनग्गे नाफा गर्ने नीति बनाएको देखिन्छ ।
बाह्य बजारमा बढ्दा निगमले घाटा नखाई बेच्ने गरेको छ । तर, भारी गिरावट आउँदा पनि प्रति लिटर मात्र दुई रुपैयाँका दरले घटाएर उपभोक्तामाथि भार बढाएको छ ।