Logo

तीन वर्षमा चाँगुनारायण विश्वकै उत्कृष्ट शहर बन्ने महेश बस्नेतको दाबी



काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आगामी तीन वर्षभित्र चाँगुनाराण विश्वकै उत्कृष्ट शहर बन्ने दाबी गरेका छन् । संघीय सरकारको रु. चार करोड ५० लाख रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको सोमबार अनुगमन एवं उद्घाटन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

भक्तपुरमा ऐतिहासिक विकासका कामहरु तिव्र गतिमा अघि बढेको बताउँदै पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले चाँगुनारायणको प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान सुरु भएको बताउँदै अबको तीनवर्षमा चाँगुनारायण विश्व कै उत्कृष्ट शहर बन्ने दाबी गरे । सम्बोधनको क्रममा उनले भने,“एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, सातसय रोपनीमा वीर अस्पताल बन्दैछ, चाँगुनारायण इन्जिनियरिङ्ग कलेज नगरपालिकाले चलाउँदैछ, झौखेल चाँगुको ज्योर्ति्लिङ्गेश्वरमा ९ करोडको बजेटमा सडक कालोपत्र हुदैछ, रातो किताबमा भर्खरै २० वटा सडकका योजना थप गरेका छौ, करिब ४५ करोड अर्थमन्त्रालयबाट थप गरेर भक्तपुरमा ल्याउन सफल भएका छौ ।”

उनले सरकारले अघि बढाउने हरेक विकास आयोजना कार्यान्वयन गर्न आफूहरु सक्रिय रुपमा फिल्डमा खटिने पनि विश्वास दिलाए । उनले भने, हामी आयोजना कार्यान्वनयको लागि मैदानमा खटिन्छौं । उनले वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित हुँदै गएको उल्लेख गर्दै मन्त्री नेम्वाङको नेतृत्वले १०० दिनमा गरेको विकासका कामले ऐतिहासिक सफलता हासिल गर्न सफल भएको समेत बताए । तस्विर : थापा दिनेशको फेशबुकबाट साभार



प्रतिक्रिया दिनुहोस्