काठमाण्डौ ३ चैत्र । लिच्छिविकालिन राजा मानदेवद्धारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गर्नु भएको छ । भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको बताए । उनले भने,“चाँगुनारायण ऐतिहासिक ठाउँ हो । पर्यटकिय रुपमा पनि यस क्षेत्रको ठूलो महत्व रहेको छ जहाँ नगरकोट छ ।”
उनले नगरकोट जाने बाटो चाँडै सम्पन्न हुनुपर्ने धारण राखे । उनले भने,नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो । त्यसलाई हरियाली बनाउनु पर्छ । धुलो रहित कालोपत्रे बाटो बनाइनु पर्छ र पर्यटकका लागि सहज पहुँच मार्ग बनाइनु पर्छ तर केहि समस्या भएको छ । हामी लागि रहेका छौ ।”उनले त्यसलाई नीतिगत रुपमा चाँडै टुंग्याएर नगरकोट आउने पर्यटकहरुलाई सहज बनाइने उल्लेख गरे ।
भक्तपुरको समग्र विकास गर्न वडा अध्यक्ष, पालिका प्रमुख, साँसद सबै जनप्रतिनिधिहरु अत्यन्तै सक्रियतापूर्वक लागेको जानकारी पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै यसरी नै सबै जनप्रतिनिधिहरु लागे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सारेको सपना र चालेको महाअभियान समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान पुरा हुने पनि विश्वास दिलाए ।
भक्तपुरदेखि काठमाण्डौ जोड्ने नाका कोटेश्वरको जामलाई अस्थायी रुपमा समाधान गर्न जडिबुटीदेखि कोटेश्वरसम्म चार लेनबाटो खोल्न ठेक्का लगाइएको उल्लेख गर्दै दिर्घकालिन समाधानका लागि तयारी गरिएको पनि उनले बताए ।
“एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ, जाइकाले अध्ययन शुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौं ।” उनले भने । मन्त्री नेम्बाङले विकासको अभियन्ता युवा नेता महेश बस्तेतलाई भक्तपुरले पाएको भन्दै उनले भक्तपुर विकासमा चालेको कदमको प्रशंसा समेत गरे ।