Logo

मास्कमा कालोबजारी : १० लाख ८ हजार मास्कसहित पाँच पक्राउ



काठमाडौं, ४ चैत । चीनबाट मास्क आपूर्ति हुन छाडेको छ। त्यसकारण एक महिनायता नेपालमा मास्कको खडेरी नै परेको छ। विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसको जोखिमबाट जोगिन मास्क लगाउन सुझाएसँगै त्यसको खोजी गर्नेको संख्या ह्वात्तै बढेको छ।

बजारमा माग बढेसँगै व्यापारीले त्यसलाई कमाउने अवसरका रूपमा उपयोग गर्दा केही समयदेखि मास्क सजिलै पाउन छाडेको छ। बल्लबल्ल भेटिए पनि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यस्तो अवस्थामा पनि सरकारी निकाय र सरोकारवाला पक्षले बजारमा मास्कको हाहाकार हुने अवस्था आइनसकेको दाबी गर्छन्। सबैले मास्क प्रयोग गर्न थाल्दा अभाव सिर्जना भएको जिकिर व्यापारीहरूको छ।

यसैबीच आइतबार कपनबाट १० लाख ८ हजार मास्कसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इमाडोल बस्ने टेकराज श्रेष्ठ, कपन बस्ने सञ्जय रेग्मी, स्वयम्भू बस्ने अजिम बक्स मियाँ, महानगरपालिका–१३ मा बस्ने सुरज गोयल र बागबजार बस्ने सुवास महेश्वरी छन्। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्