काठमाडौं, ४ चैत । नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ६ ट्याबलेट सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, हरिवन नगरपालिका भोगटेनीस्थित बाटोबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका चापानीका अनिल कुमार बल्मपाकी र सोही ठाउँ बस्ने पारस खड्का रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले बा.५५ प ६७४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै रौतहट, मौलापुर नगरपालिका पथराबाट अवैध लागूऔषध गाँजा करिब २ केजी, चरेश जस्तो देखिने वस्तु करिब २ सय ५० ग्राम र हरिणको सिंग एक थान सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मौलापुर नगरपालिकाका नरेश महतो र सोही ठाउँ बस्ने बिरजान महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको ना.१४ प २५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध र हरिणको सिंग सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।