काठमाडौ, चैत्र ४ । महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेत पाँच जनामाथी दुई लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । चोरी कसुरसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाई दिन निजका आफन्तहरुले घुस रकम दिन खोजेपछि उनलाई अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।
प्रहरी सहायक निरीक्षक लामाले तत्काल कार्यालयमा जानकारी गराएको हुँदा महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंबाट खटिई गएको टोलीले बसन्तपुर स्थित कुमारी मन्दिर परिसरमा सुरेन्द्र मण्डल, गगनदेव महरा र अशोक दास समेतलाई ८० हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथी अनुसन्धान हुँदा चोरी मुद्दाको अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाउने प्रयोजनको लागि दास, महरा र मण्डलले महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेतका लागि रविन्द्र प्रजा मार्फत् दुई लाख घुस दिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथी कानुन बमोजिम असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।