Logo

किताब होइन ट्याब बोकेर स्कुल



काठमाडौँ, ५ चैत । बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्।

बालबालिकाकै कारण अभिभावकले ट्याब र स्मार्ट मोबाइल प्रयोग गर्न छोडेर सामान्य मोबाइल बोकेका उदाहरण पनि भेटिन्छन्। छोराछोरीको परीक्षाको मुखमा घरको नेट कनेक्सन हटाउने अभिभावक पनि कम छैनन्। तर बुटवलको एउटा विद्यालयका स्कुले बालबालिकाहरू भने घरमा मात्रै होइन स्कुल पनि ट्याब नै बोकेर जान्छन्। कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिक्छन्। त्यसपछि बल्ल उनीहरूको पढाइ सुरु हुन्छ। यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गर्न सुरु गरेको हो, बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले। सो स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको छ। कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयका निर्देशक गणेश ज्ञवालीले बताए। प्रविधि प्रयोगमा दक्ष बनाई विश्वबजारमै प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उर्न डिजिटलाइज्ड अध्यापन सुरु गरेको उनले बताए।

सहिद स्मारक बोर्डिङ स्कुलको कक्षाकोठामा टच–बोर्ड छ। कम्प्युटरको किबोर्डले टाइप गरेपछि बोर्डमा लेखिन्छ। टाइप ढिलो गर्ने शिक्षकले टच–पेनको प्रयोग गर्न सक्छन्। अबको समय शिक्षक मार्कर र बोर्डमा सीमित हुन भएन भन्ने सन्देश विद्यालयले दिइरहेको छ। नयाँ र उत्कृष्ट पाठ्य–सामग्री खोज्न र अध्ययन गर्न सहज भएकाले डिजिटलाइज्ड अध्यापन प्रणाली उपयुक्त भएको विद्यार्थीहरू बताउँछन्। एसइईको अन्तिम तयारीमा रहेकी कक्षा १० कि छात्रा सरिष्मा पोख्रेलले प्रविधिको प्रयोगले आफूलाई चाहिने पाठ्य–सामग्री खोज तथा अध्ययन गर्न निकै सहज भएको अनुभव सुनाइन्। विद्यालयकी अर्की छात्रा आरती जैसवालले पनि भिजुअल र अडियोबाट पढ्दा घोकन्ते बानी हटेको बताइन्। ‘सुनेको भन्दा देखेका कुरा छिटो बुझिन्छ। लामो समयसम्म मेमोरीमा पनि रहन्छ,’ जैसवालले भनिन। कक्षामा शिक्षक नभए पनि आफैंले खेजेर पढ्ने, लेख्ने र नबुझेका कुरा दृश्यमा हेरेरै बुझन सहज हुने आरतीको भनाइ छ।

स्कुलले प्रविधि अध्ययन, खोज–अनुसन्धानलाई सहज बनाउने महत्वपूर्ण साधन हो भन्ने कुरा बेलैमा बुझाएर आफूहरूको आँखा खोलिदिएको विद्यार्थी रोजन सेढाइँले बताए। स्कुलमै प्रविधिको महत्व र प्रयोग सिकेकाले उच्चशिक्षाका क्रममा त्यसको प्रयोगबाट बिग्रने वा बरालिने मौका नहुने उनको भनाइ छ। ‘प्रविधिको महत्व घोकाएर होइन, प्रयोग गरेरै बुझ्ने मौका पायौं। प्रविधि प्रयोगको महत्व बुझिसकेकाले भविष्यमा यसले हामीलाई समयअनुकूल र अझ स्मार्ट बन्न सघाउनेछ,’ रोजनले भने। छात्रा सुस्मिता श्रेष्ठलाई सुरुसुरुमा हातमा ट्याब पर्दा गेम खेल्न र कार्टुन हेर्न मन लाग्थ्यो। तर विद्यालयमा शिक्षकले प्रविधिको प्रयोगको महत्व र उपयोगीता सिकाउँदै पढ्न र पाठ्य सामग्रीहरू खोजी गर्न सिकाएपछि प्रविधिलाई ज्ञान आर्जन गर्ने माध्यमको रूपमा लिएको बताइन्। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्