Logo

चारवटै प्रस्ताव सभाबाट अस्वीकृत



काठमाडौँ, ५ चैत । प्रदेश २ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो।

नामाकरण र स्थायी राजधानी तोक्न दलहरुबीच सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवको संयोकत्वमा गठित नामाकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समितिले मतदान प्रक्रियामा जान फागुन २९ गतेको प्रदेशसभा बैठकमा प्रस्ताव गरेको थियो। त्यसै अनुरुप मंगलबार मतदानमार्फत राजधानी र नामाकरण टुंग्याउने प्रयास गरिएको थियो। संसदीय व्यवस्था तथा परामर्श समितिको बैठकले तोकेको कार्यसूची अनुसार मंगलबार सबैभन्दा पहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामकुमार यादवले सभामा प्रदेशको नाम ‘जानकी’ प्रस्ताव पेस गरेका थिए। तर १०७ सदस्यीय प्रदेशसभामा ‘जानकी प्रदेश’ प्रस्तावमा मतदान हुँदा पक्षमा ३७ मत मात्र परेको थियो। ३२ जना प्रदेशसभा सदस्य रहेको नेकपाको प्रस्तावको पक्षमा ५ जना अन्य दलका सांसदले मतदान गरेका थिए।

नेकपाको प्रस्ताव अस्वीकृत भएपछि नेपाली कांग्रेसका तर्फबाट सांसद नरेशकुमार यादवले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ राखियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए। २८ जना सांसदले मात्रै पक्षमा मतदान गरेपछि सो प्रस्ताव पनि विफल भयो। कांग्रेसका बाहेक अन्य दलका नौ सांसदले ‘मिथिला भोजपुरा’ प्रदेश पक्षमा मतदान गरेका थिए। त्यस्तै कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेस’ को पक्षमा मतदान हुँदा ४२ मत प¥यो। कांग्रेससहित विभिन्न दलका ४२ जना सांसदले ‘मध्य मधेस’ पक्षमा मतदान गरेका थिए।

तीनवटा प्रस्तावमा सांसदले क्रस भोटिङ गरेपछि नेकपा र कांग्रेसले संसदीय दलको बैठक बोलाएर सांसदलाई दलकै निर्णय अनुसार मतदान गर्न ह्वीप जारी गरेका थिए। नेकपा सांसदका अनुसार संसदीय दलको बैठकमा पार्टीको निर्णय अनुसार मतदान गर्न भन्दै दलले रातो झण्डाको कसम खुवाएको थियो। क्रस भोटिङ हुनसक्ने आशंकाले मतदान क्रममा पार्टीका अर्का सांसदलाई मतपत्र देखाउनुपर्ने निर्देशन नेकपाले आफ्ना सांसदलाई दिएको थियो। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्