Logo

प्रधानमन्त्रीलाई कालोबजारियाको पत्र



काठमाडौँ, ५ चैत । सामान जति अभाव भयो जनता उति चलाख हुन्छन्, त्यसैले त जनता सपार्ने तपाईंको जिम्मेवारी पनि हामीले आफ्नै टाउकामा ल्याएका छौं

सम्माननीय प्रधानमन्त्रीज्यू,

नमस्कार एवं सुस्त स्वास्थ्यलाभको कामना।

मन त शीघ्र स्वास्थ्यलाभकै कामना गर्नु थियो। तर, अलि डर लाग्यो। तपाईं छिटै सक्रिय हुनुभयो भने हामीले निस्क्रिय हुनुपर्ने हो कि भन्ने चिन्ता लाग्यो। तपाईं ओछ्यानमा हुनुहुन्छ, बजारमा हाम्रो एकलौटी फस्टाएको छ। तपाईं बजारमा निस्कनुभयो भने हामी ओछ्यानमा पुग्नुपर्ने हुन सक्छ। त्यसैले कोरोनाको त्रास रहुन्जेल तपाईंले आराम गरेकै जाती भन्ने हाम्रो अन्तर्मनको सुझाव छ। जुनसुकै संक्रमणबाट जोगिनुपर्ने अवस्था छ, हुलमुलमा कोरोना सल्किन सक्छ। बरु ढोका थुनेरै बस्नुहोस्। तपाईं–हामी सबैको हित यसमै छ।

जसरी कोरोना संक्रमण व्याप्त हुन उपयुक्त वातावरण चाहिन्छ, हाम्रो पेसा फस्टाउन पनि उचित वातावरणै चाहिँदो रहेछ। हामीलाई अहिले साँच्चै राम्रो वातावरण मिलेको छ। त्यही भएर त तीव्र संक्रमण गर्दै लगेका छौं। पहिलो गाँसमा ग्यास लुकाइसक्यौं। तपाईंका मन्त्रीले पहिलाभन्दा थप गरेर पठाएको भनेको सुनिरहनुभएकै होला। सत्य त्यही हो। ढुक्कले बस्नुहोस्। मन्त्रीका कुरा सुन्नुहोस्। अरूका प्यारप्यार सुनेर बिरामी मान्छे टाउको किन दुखाउनुहुन्छ रु जनताले त यो पनि पाइएन, ऊ पनि पाइएन भनिहाल्छन्। साह्रै असन्तोकी प्राणी हो जनता भनेको। तिनको चित्त बुझाउन तपाईंको कुर्सीमा जस्तै माइकालाल पुगे पनि सक्दैन। मन्त्रीले धन्न तरकारीदेखि दाल–चामलको मूल्य बढिरहेको, खाद्य वस्तु बजारबाटै गायब भएको जस्ता खबर भनेकै छैनन्। साह्रै ज्ञानी छन् तपाईंका टिमका मान्छे। बजारको यथार्थ बुझेर उनीहरू कडा भई ननिस्किऊन् भन्ने हाम्रो कामना छ। त्यो पूरा भइरहेकै छ। भइरहने छ भन्नेमा ढुक्क छौं।

कथंकदाचित हामीमाथि धरपकड भयो भने वा ऐन–कानुन लगाएर धपाइयो भने सर्वनासै हुन्छ, प्रधानमन्त्रीज्यू। हरेक बिहान पशुपति गएर हामी त्यही कामना गर्छौं, ‘निस्फिक्री चल्न पाऊँ, प्रभु।’ महादेवका कानमा हाम्रो स्तुति पुगेकै छ अहिलेसम्म। प्रधानमन्त्रीज्यू, हामीलाई साँच्चै मन पर्ने ठाउँ भान्सा हो। त्यसैले पहिलो चरणमा ग्यास खायौं। अब नुन–तेल धमाधम उठाउँदैछौं। धेरैतिर संकट बनाइसक्यौं। दुई–चार दिनमा नुन पाउन पक्कै हम्मे पर्नेछ। ढुक्क हुनुहोस्– हामी तपाईंका मतदातालाई अलिनो खान बाध्य पार्न चाहन्नौं। मात्र दोब्बर बढी तिर्नुपर्ने हुन सक्छ। यसो ‘सेटिङ–उटिङ’ मिलायो भने सजिलै पाउन पक्कै सक्लान्। त्यसैका लागि न हो– यत्रो दुःख गरी–गरी हामीले लुकाएको। त्यो थोडे हामीले खान लुकाएको हो र रु जाने जनतामै हो। अनिकालमा बीउ जोगाउनु भनेको यही हो, प्रधानमन्त्रीज्यू।

अँ, पेट्रोल पम्पमा गाडीको लाइन देख्नुभएकै होला। हैट, तपाईं त आराममा पो हुनुहुन्छ। कहाँबाट देख्नु रु र, नदेखेकै राम्रो। पेट्रोलकै अभाव हुनुपर्ने स्थिति छ होला त देशमा रु छन त थिएन। तर, हामीले बनायौं। कारण उही हो– हाम्रो तागत। (आजको अन्नपूर्ण पोष्टमा अखण्ड भण्डारीले लेख्नु भएको आलेखको केही भाग ।)



प्रतिक्रिया दिनुहोस्