काठमाडौं, ५ चैत्र । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई बिदा नबस्न निर्देशन दिएको छ । अन्य कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने भएका छन् । कसैलाई संक्रमण देखिएमा व्यवस्थापनतर्फ लाग्नुपर्ने भएकाले बिदा रोकिएको हो ।
सीमा क्षेत्रका प्रहरी कार्यालयका इन्चार्जलाई पनि बिदा बस्न रोकिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । प्रहरी प्रधान कार्यालयले नेपालमा कोरोना संक्रमण देखिएमा आफ्नोतर्फबाट कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना नै बनाइएको छ । सम्भावित संक्रमणबाट जोगिन सतर्कताका उपायसमेत सिकाइएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले देशभरिका गणमा क्वारेन्टाइन कोठा बनाएको छ । शंकास्पद बिरामी (सर्वसाधारण र प्रहरी दुवै)लाई राख्न क्वारेन्टाइन बनाइएको हो । सबैजसो कार्यालयमा थर्मलगनबाट चेकजाँच सुरु गरिएको र संक्रमणबाट जोगिन निर्देशन दिइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए ।-दृष्टिबाट