Logo

सरकारले तत्काल शैक्षिक संस्था बन्द नगरे भयावय स्थिति आउँछ : सिम्खडा



‘सम्भावित जोखिमबाट बच्न स्थानीय तहले क्वारेन्टाईनको व्यवस्था गर्नुपर्छ’

काठमाडौं, ५ चैत्र । सामाजिक अभियन्ता तथा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल सरकारले पूर्वतयारीस्वरुप देशभरिका विद्यालय बन्द गर्नुपर्छ भनेर आग्रह गरेको स्मरण गराउँदै आफ्नो मागप्रति वर्तमान सरकार गम्भिर नभएको समेत सिम्खडाको गुनासो छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलाकार सिम्खडाले कोरोनाको प्रभाबाट जोगिनको लागि सबैभन्दा पहिले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेलामा सरकारी अधिकारीहरुबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आईरहेकोमा समेत आक्रोश पोखे । उनले नेपालमा कोरोनाको संक्रमण देखिएको छैन भनेर सरकार कानमा तेल हालेर बस्ने बेला नभएको उल्लेख गर्दै दायाँबायाँ नसोची तत्काल विद्यालय बन्द गराउनतर्फ सरकारले कदम चाल्नुपर्ने पनि सुझाव दिए ।

सिम्खडाले प्रश्न गरे,‘के सरकारले सिंग, पखेटा र पुच्छर भएको भाइरस हेर्न खोजेको हो ? भाइरसको त्यस्तो केही हुँदैन् । सरकारले पुच्छर र पखेंटा भएको भाइरस हेर्न खोजेको हो भने सरकार भ्रममा छ । सरकार चाँडोभन्दा चाँडो यो भ्रमबाट मुक्त हुनुपर्छ । र, उसले जिम्मेवारपूर्वक कदम चाल्नुपर्छ ।’ अहिलेको समय घर्किए भोलि यही समय र अवसर आफूहरुले गुमाउन सक्नेतर्फ पनि उनले सरकारको ध्यानाकार्षण गराए ।

उनले सरकारले आकस्मिक निर्णय गरेर देशभरिका सुरु भएका र अब सुरु हुने सबै परीक्षाहरु स्थगित् गर्नुपर्ने पनि तर्क गरे । उनले भने,‘सरकारले सबै परीक्षाहरु स्थगित् नगरे देशमा भयावय स्थिति समेत सिर्जना गर्छ भन्नेपनि म यही मञ्चबाट भन्न चाहन्छु ।’ स्थानीय निकायले आफ्नो क्षमता र गच्छेअनुसार भोलि हुनसक्ने संक्रमणलाई ध्यानमा राखेर ‘क्वारेन्टाईन’ को व्यवस्था गर्नुपर्ने पनि उनले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्