Logo

चीनसँगको यात्रा बन्द नगरेर सरकाले गम्भीर गल्ती गर्यो- डा. दिक्षित



काठमाडौं, ५ चैत्र । चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले युरोपलगायत ५४ मुलुकको यात्रा बन्देज लगाउने सरकारको निर्णयको स्वागत गर्दै चीनसँगको यात्रा समेत तत्काल बन्द गर्न माग गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण बढी भएको तथ्यांक आइसक्दा पनि सरकारले यात्रा बन्द नगरेर गम्भीर गल्ती गरेको बताए ।

‘भ्रमण वर्षका नाममा डलर आउँछ भनेर चीनसँगको यात्रा बन्द नगरेको ?’ डा. दिक्षितले रिपोर्टर्स नेपालसँग प्रश्न गरे । सरकारले अहिले यात्रा बन्देजका लागि लिएको निर्णयको स्वागत गर्दै उनले चीनसँगको यात्रा बन्द गर्न कुनै ढिलाई गर्न नहुने बताए ।

सरकार २०२० को भ्रमण वर्षमा चिनियाँ पर्यटक ल्याउन केन्द्रित हुँदा यात्रा बन्द नगरेको उनको तर्क थियो । उनले भने, ‘सर्पको मुखमा भ्यागुता परेजस्तो भयो । चीनसँगको यात्रा बन्देज नगर्दा आफू अचम्मित भएको बताए ।’

देशभित्र कोरोना भाइरसको संक्रमण हुन नदिन चाल्नुपर्ने यात्रा बन्देजको कदममा ढिलाई भएको बताए । उनले भने, ‘ज्युँदो नेपालीले कमाउँछ मरेकोले सक्दैन भन्ने बुझ्न किन ढिलो गरेको ?’ जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै संक्रमित देशसँगको यात्रालाई बन्देज गर्नैपर्नेमा कुनै तर्क राख्न नहुने बताए ।

सरकारले आजै युरोप, पश्चिम एशिया, खाडी मुलुकसहितका देशहरुमा यात्रा बन्देज लगाएपनि चीनसँगको यात्रा बन्द नगगर्दा डा. दिक्षितको पछिल्लो भनाई आएको हो ।



प्रतिक्रिया दिनुहोस्