भक्तपुर, ५ चैत । नक्कली लेटरप्याड तथा छाप सहित ५० वर्षीय गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका हात्तीगौंडा बस्ने पुर्कुटीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनको साथबाट बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।