Logo

कृषि उत्पादन वृद्धिका लागि पाँच नीतिगत आधार तय



काठमाडौँ, ६ चैत । कृषि तथा पशुपक्षी मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ मूल नाराका साथ कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधार तय गरेको छ । कृषिमन्त्री घनश्याम भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी ती पाँच आधारका बारेमा जानकारी गराएको हो ।

उनले सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपक्षी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरी पाँचवटा नीतिगत आधार तय गरिएको जानकारी दिएका छन् । कृषि मन्त्रालयले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टा सबैले पाउने गरी बीउ÷नश्ल, मल, सिँचाइ, बिजुली जस्ता उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिने र त्यसलाई सर्वसुलभ बनाउने आधार तय गरिएको जनाइएको छ । त्यसका साथै हरेक किसानले प्राविधिक सेवा पाउने व्यवस्था सरकारले गर्ने उल्लेख गर्दै मन्त्री भुसालले स्थानीय तहमा करिब आठ हजार प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब छ हजार दरबन्दी अविलम्ब पदपूर्ति गरिने उल्लेख गरेका छन् ।

किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने उल्लेख गर्दै उनले वास्तविक ऋणमा किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्था अन्त्य गरी हरेक किसानलाई पाँच प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गराइने बताउनुभयो । कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने ग्यारेन्टी गरिने उल्लेख गर्दै मन्त्री भुसालले प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली–वस्तुको हानि–नोक्सानीबाट किसानलाई सुरक्षित गरिने उनले बताएका छन् ।

किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने उनले बताएका छन् । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा सो वस्तु खरिद गर्ने व्यवस्था सरकारले गर्ने उनले जानकारी दिएका छन् । उनले यो पाँचवटा नीतिगत आधार लामो समयको अध्ययनपछि तयार गरेको छ । यो नीतिगत आधारमा कृषिमा कार्य भयो भने यसले सो क्षेत्रलाई निकै प्रभावित पार्ने उनले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्