Logo

विदेशी लगानी प्रतिबद्धता बढ्यो



काठमाडौं, ६ चैत । विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा तीन गुणा बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा २९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। गत वर्ष सोही अवधिमा ११ अर्ब मात्रै विदेशी लगानी प्रतिबद्धता आएको थियो।

सरकारले विदेशी लगानी आकर्षित गर्ने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएसँगै विदेशी लगानी बढ्न थालेको हो। ऐनमा लगानी, सञ्चालन र फिर्तासम्बन्धी स्पष्ट व्यवस्था गरेसँगै विदेशी लगानी आउन थालेको हो। उद्योग विभागका अनुसार चालु वर्षको फागुनसम्म विदेशी लगानीमा एक सय ७३ वटा उद्योगले दर्ता प्रक्रिया अघि बढाएका छन्। गत वर्ष विदेशी लगानीमा दुई सय २५ वटा उद्योग दर्ता भएका थिए। लगानी प्रक्रिया खुकुलो र सरल गराएसँगै विदेशी लगानी आउन थालेको विभागको दाबी छ।

विभागका अनुसार पर्यटन क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता बढेको छ। चालु आर्थिक वर्षको फागुनसम्म ६६ पर्यटन उद्योगमा आठ अर्ब ७२ करोड लगानी प्रतिबद्धता भएको छ। गत वर्ष ६९ उद्योगमा तीन अर्ब ६७ करोड मात्रै लगानी प्रतिबद्धता भएको थियो। पर्यटनपछि सेवा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता बढेको छ। ४४ पर्यटन उद्योगमा ६ अर्ब ७४ करोड रुपैयाँ प्रतिबद्धता भएको छ। गत वर्ष सोही अवधिमा ७६ वटा सेवा क्षेत्रका उद्योग दर्ता भएका थिए। ती उद्योगमा एक अर्ब ८० करोड लगानी प्रतिबद्धता भएको थियो। उद्योगका क्षेत्रमध्ये सूचना र प्रविधिमा विदेशी लगानीको आकर्षण तेस्रो नम्बरमा छ। विभागका अनुसार ३१ सूचना उद्योगमा पाँच अर्ब ९३ करोड लगानी प्रतिबद्धता भएको छ। सोही अवधिमा गत वर्ष १७ वटा उद्योगमा २३ करोड मात्रै लगानी प्रतिबद्धता भएको थियो।

गत वर्षको तुलनामा उत्पादनकमूलक क्षेत्रको संख्या ह्वात्तै घटेको छ। गत वर्ष ५२ वटा उद्योग दर्ता भएकामा चालु आवमा २३ वटा उद्योग स्थापना भएका छन्। उत्पादनतर्फ चालु आवमा दुई अर्ब ८४ करोड प्रतिबद्धता भएको छ। गत वर्ष पाँच वर्ष ४३ करोड मात्रै लगानी प्रतिबद्धता भएको थियो। विभागका अनुसार पाँचवटा ऊर्जा क्षेत्रका उद्योगमा चार अर्ब ९७ करोड प्रतिबद्धता भएको छ। यस्तै चालु आर्थिक वर्षमा चारवटा कृषिजन्य उद्योगमा ४४ करोड लगानी प्रतिबद्धता भएको छ। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्