काठमाडौं, ६ चैत्र । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाको प्रभाव नेपालमा परेको बताउँदै सरकारले कृत्रिम अभाव हुन नदिनेगरि काम गरेको स्पष्ट पारेका छन् । भारतमा भएको मूल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको उनको भनाई छ । तर, उनले कृत्रिम मूल्यवृद्धि हुन नदिनेगरी सरकारले काम गर्ने विश्वास दिलाए ।
बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारको पूर्व तयारीले गर्दा हवाई र स्थल नाका व्यवस्थित भएको समेत बताए ।
उनले भने,‘सरकारको पूर्व तयारीका कारण कोरोना फैलन नसकेको हो, हामी सम्भावित जोखिमका ठाउँ व्यवस्थित गर्छौं । सरकारले सावधानी र पूर्वतयारीका काम गरिरहेको छ ।’ उनले विश्व स्वास्थ्य संगठन, अभिभावक, नागिरक समाजको आग्रहमा सबै तहका परीक्षा सारिएको बताएका हुन् ।
प्रभावित पर्यटन क्षेत्रलाई राहत दिइने
अर्थमन्त्री डा खतिवडाले कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रकिङ तथा हस्तकला जस्ता क्षेत्र बढी प्रभावित भएको जनाउँदै जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिए। उनले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट गरे।
मुलुकको कूल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने स्पष्ट गरे।
मूल्यवृद्धि घट्दो
मन्त्री डा खतिवडाले भाइसरको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिने बताए । उनले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैँङ्कििङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि बताए । उनले भने, “हामीसँग करिब ७० अर्बको बैँङ्कििङ लगानी गर्नसक्ने स्थिति छ । मूल्यवृद्धि क्रमशः घट्दो दरमा छ । उद्योग क्षेत्रमा चार प्रतिशतले आयात वृद्धि भएको छ । चीनतर्फको नाकाबाट सामान ल्याउनमा केही समस्याका कारण स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिन नेपालतर्फ ल्याउनेतर्फ पहल भइरहेको छ । त्यसकारण विषम समस्या आउँछ भन्ने अवस्था छैन । कुनै भ्रमित हुनुपर्दैन ।”
सरकारी र गैह्रसरकारी स्वास्थ्यकर्मी परिचालित
नेपाल सरकारका प्रवक्ता मन्त्री खतिवडाले कोभिड–१९ को जोखिमप्रति पूर्व तयारीलाई चुस्तदुरुस्त राखिएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तीनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म मुलुकका कुनै पनि व्यक्तिमा भाइरस नदेखिएर नेपाल बच्न सफल भएको बताए । हाल नेपाल र छिमेकी मुलुकका १४१ नाकामा स्वास्थ्य परीक्षणको प्रबन्ध गरिएको छ ।
मन्त्री खतिवडाले सरकारी र गैह्रसरकारी क्षेत्रका स्वास्थ्यकर्मीलाईसमेत स्वम्सेवकका रुपमा परिचालन हुन आग्रह गरिएको र कोभिड– १९ को रोकथाम र उपचारका लागि आवश्यक पर्ने उपकरणका लागि छिमेकी मुलुक र अन्य मुलुकबाट सहयोग लिन थालिएको जानकारी दिए। तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम