काठमाडौं, ६ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि जानकारी दिए ।
चीनको वुहान प्रान्तबाट ५७ दिनअघि फैलिएको कोभिड– १९ बाट विश्वका धेरै मुलुक प्रभावित भए पनि नेपालमा हालसम्म यसको सङ्क्रमित भेटिएका छैनन् । तर विश्व स्वास्थ्य सङ्गठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा सङ्क्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ । सरकारले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर बुधबार माध्यमिक शिक्षा परीक्षा ९एसइई० र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय गरेको थियो ।
कालोबजारीलाई कारवाही
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारवाही गर्न चेतावनी दिएको जानकारी दिए ।
उहाँले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारवाही गरी रु ५६ लाख जरिवाना असुल गरिएको बताए । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इण्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने स्पष्ट गरे ।
औषधि पसलहरुले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिए । मन्त्री भट्टले विपद्को अवस्थामा सञ्चारमाध्यमले आम जनतालाई सुशिक्षित र सुसूचित गराउन भूमिका खेल्नुुपर्नेमा पनि जोड दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम