Logo

‘३ सय बिघा जग्गा भारतमा पारियो’



काठमाडौं, ७ चैत । कञ्चनपुरमा ३ सय बिघाभन्दा बढी नेपाली भूमि भारततर्फ पारिएको विषयले सदनमा प्रवेश पाएको छ। नेपाल–भारत संयुक्त सर्भे टोलीले विवादै नभएको भूभाग भारतमा पारेकोमा राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले सीमांकनमा खटिएको नापी टोलीले नेपालको नक्सै मेटिने गरी गरिरहेको कार्य स्वीकार्य नहुने बताइन्। सीमा प्रमाणीकरण कार्य तुरुन्त बन्द गर्नुपर्ने उनको भनाइ छ। ‘सीमांकन बन्द गरियोस् र अहिले भएका काम खारेज गरियोस् भनी सदन र अध्यक्षमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, राष्ट्रियसभा बैठकको विशेष समयमा बिहीबार उनले भनिन्, ‘नक्सा, पुर्जा नेपालकै भोगचलनमा विवादरहित भएको अवस्थामा कसरी नेपाल(भारत संयुक्त नापी टोलीले सीमास्तम्भ गाड्यो रु कुन मापदण्ड र प्रक्रिया अपनाई जनविरोधी निर्णय भयो ? यो सम्मानित सदन जान्न चाहन्छ।’

उनका अनुसार बेलडाँडी गाउँपालिका–३ वैवाहका वडाध्यक्ष बलराम चौधरी, दुर्गा चौधरीका पाँच बिघासहित १८–२० परिवारको जग्गाबारे विवाद थिएन। २०२४ सालदेखि भोगचलन गरिएको, पुर्जा भएको तथा नक्सामा राखिएको जग्गा नेपालकै भूभाग हो भन्नेमा विवाद नरहेको उनले सुनाइन्। बेलौरी नगरपालिका–१० भुडामा भएको २० बिघा जमिनको नक्सा, पुर्जा नेपालकै भोगचलनमा विवादरहित भएको अवस्थामा कसरी टोलीले सीमास्तम्भ गाड्यो भन्दै उनले प्रश्न गरिन्। ‘हाम्रा प्राविधिक के त्यति अक्षम छन् ? ’, उनले भनिन्, ‘सरकार के हेरिरहेको छ भन्ने गम्भीर प्रश्न खडा भएको छ।’

बेलौरी(८ पचईमा १३८ नम्बर पिल्लरदेखि हुलाकी सडकसमेत २०२४ सालदेखि नेपालको भोगचलनमा रहेको ३०–४० बिघा जमिन भारततर्फ १२ सय मिटरजति पारिएकोमा उनले विरोध जनाइन्। ‘सरकारलाई किन यसो भयो भनी प्रश्न पनि गर्न चाहन्छु रु ’, उनले भनिन्। उनले आफूले गत वर्ष शून्य समयमा कञ्चनपुरको दक्षिणी भेगको प्याराताल नेपालको भूभाग भएको जानकारी गराएको स्मरण गराइन्। ‘त्यहाँ आँखा गाडिएको छ भनी सरकारको ध्यानाकर्षण गराउँदा परराष्ट्रमन्त्रीले हाम्रो ध्यानाकर्षण भएको छ, हामी त्यसमा सजग छौं भन्नुभएको थियो’, उनले भनिन्, ‘तर, त्यो पनि उतै पारियो भनेर सुन्दा अचम्म लागेको छ।’ उनका अनुसार प्याराताल नेपालको सम्पदा हो। कोरियाली सहयोगमा २०५२ सालमा निर्माण भएको नहरसमेत भारततर्फ पारिएको कुराले सरकारको अक्षमता प्रमाणित भएको उनको भनाइ थियो। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्