Logo

सामाजिक सञ्जाल कार्यविधि बनाउँदै राष्ट्र बैंक



काठमाडौं, ७ चैत्र । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने भएको छ । गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो । यसैलाई आधार बनाएर कार्यविधि बन्ने भएको हो । सामाजिक सञ्जालमा गरिने बुस्टमार्फत् अर्बौ रूपैयाँ बाहिरिने क्रम बढेसँगै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले उक्त निर्देशन दिएको थियो ।

जसअनुसार विदेशी विनिमय अपचलन हुने गरी गैरकानुनी रुपमा कसैले कारोबार गरिएको पाइएमा कारबाही गरिने राष्ट्र बैंकले जनाएको थियो । सो निर्देशन आएको एक महिना भए पनि कार्यविधि नहुँदा कार्यान्यवन हुन सकेको थिएन । राष्ट्र बैंकले सो निर्देशनलाई कार्यान्यवन गराउन थप अध्ययान गरेर कायविधि निमार्ण गरिरहेकोे छ । नेपालबाट सामाजिक सञ्जाल तथा इन्टरनेटमा गरिने कारोबारलाई औपचारिकता दिन व्यवहारीक कठिनाइ भएको कारण यसको कार्यान्यवनमा केही ढिलाइ हुदै आएको छ । एजेन्ट कम्पनीबाट नेपालीले सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत् गरिने विज्ञापनको भुक्तानी गर्न सक्ने नयाँ ब्यावस्था हुन लागेको हो ।

फेसबुक, ट्विटर, युट्युवले नेपालमा नेपाली कानूनअनुसार ट्रेडमार्क त दर्ता गराए पनि सम्पर्क कार्यालय भने खोलेका छैनन् । त्यसैले हालसम्म कुनै नेपाली व्यक्ति वा कम्पनीले फेसबुक, ट्विटर वा युट्युवमा बिज्ञापन गर्नुपरेमा भने विदेशबाट विदेशी रकममा भुक्तानी गर्नुपर्छ । जसका लागि फेसबुक म्यानेजरमा गएर क्रेडिट कार्ड अथवा पे–पालबाट पैसा तिर्नु पर्ने हुन्छ । यसका लागि प्रयोग गरिने क्रेडिट कार्ड भने नेपालका बैंकबाट जारी गरिएको चल्दैन । कुनै विदेशी बैंकबाट जारी गरिएको क्रेडिट कार्ड नै चाहिन्छ । सोही कारणले गर्दा बीचमा एजेन्ट कम्पनीको आवश्यकता परेको र उनीहरूलाई मात्र राष्ट्र बैंकले भुक्तानीको अनुमती दिने तयारी गरेको छ । यसैगरी हालसम्म युट्युबमा गरिने आम्दानी पनि सिधै नेपालका बैंक खातामा नै जम्मा गर्न सकिने व्यवस्था हालसम्म छैन् । युट्युवले चेक अथवा वेस्टर्न युनियन मनी ट्रान्स्फरमार्फत् नेपाली युट्युव च्यानललाई आम्दानी वापतको रकम पठाइदिने गरेको छ । अब भने युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने छ ।



प्रतिक्रिया दिनुहोस्