काठमाडौँ, ८ चैत : सरकारले कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । मुलुकमा भोलि आइतबारदेखि यही चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरिसकेको छ । यस्तै चैत १० गतेदेखि लागू हुनेगरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गरेको छ ।
अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सरकारले आह्वान गरिसकेको छ । यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाईमार्ग हुँदै नेपाल आगमनमा रोक लगाउन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
सबै सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्ने उनले आह्वान गरेका छन् । चीनको वुहानमा गत डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा देखिएको थियो । यो कोरोनाको सातौँ प्रजातिमा पर्छ । जनावरबाट मानिसमा सरेको भनिएपछि कुन जनावरबाट सरेको भनेर पत्ता लागेको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म १७७ मुलुकमा दुई लाख ३४ हनार ७३ जना सङ्क्रमित भइसकेका छन् । जसमा नौ हजार ८४० जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ को नेपाल उच्च जोखिममा रहे पनि अहिलेसम्म सङ्क्रमण देखिएको छैन । भारतको सीमानाकाबाट बढी जोखिम रहेकाले अहिले सरकारले सीमामा उच्च निगरानी बढाउँदै आएको छ ।