काठमाडौं, ८ चैत्र । सरकारले लामो दुरीको यात्रुवाहक सवारी साधन १० चैत्रबाट बन्द गर्ने घोषणा गरेपछि छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने बन्द हुने छैनन् । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीका यात्रुवाहक सवारीमा कुनै रोक नलगाइएको बुझिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले छाटो दुरीको यात्रुवाहक सवारी साधन बन्द नगरिएकाले निर्वाध चल्न दिइने जानकारी दिए । उनले भने, छोटो दुरीमा चल्ने सवारीसाधन बन्द हुनेछैन ।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले १० चैत्रबाट लामो दुरीको सवारी साधन चल्न रोक लगाउने निर्णय गरेपनि आन्तरिक रुपमा छोटो दुरीका सवारी साधनमा रोक नलगाएको हो । तर, सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
कुन कुन सवारी साधन चल्छ
छोटो दुरीको सार्वजनिक सवारी साधन
मध्यम दुरीको सार्वजनिक यात्रुबस
निजी सवारी साधन
मालबाहक सवारीसाधन
खानेपानी ढुवानी
दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान
फोहोर बोक्ने सवारी
पेट्रोलियम पद्धार्थ ढुवानीको सवारी
एम्बुलेन्स
कुन कुन सवारी साधन चल्दैन
लामो दुरीका यात्रुवाहक बस