काभ्रे, चैत ९ । बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी गराएको छ ।
बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।
एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।रासस