डा. कृष्ण कुमार तामाङः विश्वव्यापी कोरोना भाइरसको प्रकोप भयावह हुदैं गएको परिप्रेक्ष्यमा नेपालमा राज्य स्तरबाट सरकार तथा सरकार प्रमुखबाट हुनेसम्मका प्रयासहरु निरन्तर जारी रहँदा पनि सर्वसाधारण नेपाली जनमानसमा अझ केही सतर्कता सम्बन्धी जानकारीमूलक तथ्यहरु विस्तारित गर्नमा सबै तह र तप्काबाट समावेशी सहभागिताको अहम् सर्वोपरी रहेको निर्विवाद छ । केही बुद्घिजीवी लगायत युुवाहरु भ्रामक समाचार प्रेषण गर्नमा आनन्द लिने गरेको पाइनु दुुखद विडम्बना हो । संकटको घडीमा सहयोग र सहकार्यले सकारात्मक नतिजा प्राप्त गर्न बल मिल्ने यथार्थ हृदयङ्गम गर्न जरुरी छ । संक्षेपमा यो विषम परिस्थितिसंग जुध्न एकले अर्कालाई सघाउनु आफैलाई सुरक्षित राख्नु हो । वास्तविकताको सामना गर्न समझदारी आवश्यक हुन्छ, त्यसका लागि सुझबुझ, संयम र कार्यान्वयन पक्ष अनिवार्य पहल गरिनु पर्दछ ।
सुन्नमा सामान्य झै लाग्ने कुराले ठूला महत्व राख्ने हेक्का विर्सनु हुुदैंन । कोरोना के हो ? किन र कसरी यो रोग लाग्ने र सर्ने गर्दछ । यसको निदान र उपचार किन प्रभावकारी हुन सकेको छैन ? यसको तोड के हुन सक्छ ? कुनै उपाय भए के कस्तो तरिकाले गर्न सकिन्छ चर्चा गरौं र अरुलाई पनि यसबारे थाहा दिन अधिकाधिक सामाजिक सञ्जालहरुको माध्यमबाट समन्वयात्मक, भावनात्मक र मानवीय आत्मियता प्रदर्शन गर्नमा संकोच नगरौं ।
सामान्यतया रोग कुनै पनि प्राणीलाई हुन केही शर्तहरु हुन्छन् । जीवित शरीरमा रोग लाग्ने दुई तरिकामध्ये शरीरमा कारणवश आफै पलाउने केही रोग हुन्छन् उदाहरणका लागि क्षयरोग, बाथ आदि । अन्य केही रोगका कारण किटाणु र जीवाणु बाहिरबाट आएर स्वस्थ शरीर भित्र प्रवेश गर्नाले हुन्छ । आफु स्वस्थ छँदा अरुबाट सर्ने रोग पनि दुई थरीका हुन्छन् । एक खाले रोग छोएर र शारीरिक सम्पर्कद्वारा रोगीबाट निरोगी व्यक्तिमा संक्रमित हुन जान्छ । दोश्रो श्रेणीका रोग सर्नलाई कसैले कसैलाई छुन वा संसर्ग गर्न पर्दैन, मात्र श्वास प्रश्वास, वातावरण र हावाको माध्यमबाट सजिलै अदृश्य तरिकाले नजिकका जोकोहीलाई आक्रान्त गर्न सक्दछ । यसरी एक बिरामीबाट अर्को व्यक्तिमा रोग सर्दा पहिलो बिरामीलाई रोग यथावत रहन्छ, अर्कालाई सर्दा उसलाई रोग निको हुदैंन । छोएर वा शारीरिक सम्पर्कबाट हुने रोगहरुमा चिलाउने, यौन रोग तथा एचआइभी एड्स जस्ता सामान्यदेखि गम्भीर प्रकृतिका रोगहरु हुन्छन् । अर्का थरी नछोई अथवा कुुनै किसिमको लसपस नगरे तापनि सहजैै सर्ने रोगहरु मध्ये कोरोनालाई कोभिड–१९ नामाकरण गरी पहिचान गरिएको छ ।
कोरोना अर्थात कोभिड–१९ आज भन्दा पहिले मानव समाजमा देखा परेको थिएन । भनिन्छ यो पशुुपंछीहरुबाट विविध चरणहरु पार हुदैं एक्कासी देखा पर्नाले यसको रोकथामका औषधि तयार भई सकेको अवस्था छैन । कुनै रोग हुन नदिन प्रतिरोधात्मक औषधि (भ्याक्सिन) बनाउनका लागि विज्ञानले धेरै प्रगति गरी सक्दा पनि दसदेखि पन्द्र वर्ष समय लाग्ने गर्दछ । अध्ययन, अन्वेषण र परिक्षणका सुक्ष्मतम तहहरु छिचोल्दै अन्तिममा सफल भएर मानव शरीरमा प्रयोग गर्न लायक बन्दासम्म यतिका लामो संघर्षमय अवधि कटेको हुन्छ । अमेरिका, चीन, जर्मनी, रुस, फ्रान्स, भारत जस्ता राष्ट्रहरुका वैज्ञानिक, सोधकर्ता र चिकित्सकहरु अहोरात्र यसैको गवेषणामा लागी परेका छन् । प्रकाशमा आए जसरी छिट्टै भ्याक्सिन जनमानसमा आउने छ र नयाँ विकसित प्रविधिले विगतको जस्तो वर्षौ कुर्नु पर्ने हुदैंन । छिटोमा आजभोलीसम्म नत्र २०२० अप्रिलदेखि २०२१ जूनसम्म भ्याक्सिन आई सक्ने आङ्कलन गरिदैं छ ।
कोरोना विशेष अवस्थामा बाहेक कसैको शरीरमा आफै लाग्ने रोग होइन । यो कसैबाट सरेर मात्र आउने हुनाले सर्न नदिन र कसैले अरुलाई सार्न रोक्नका लागि अलग रही टाढा बस्नुको विकल्प हाललाई छैन । तसर्थ नाकमुख छोपेर मुखबन्दी(मास्क) लगाउने, कसैसंग छुने हर्कत नगर्ने, कसैले छोएको वस्तुमा हाथ लाउन परे साबुन वा जीवाणुनाशक औषधि घोल प्रयोग गर्ने, र धेरै मानिस भेलाभएका ठाउँहरु नगए कसैबाट कोरोना सर्ने सम्भावना रहन्न र सुरक्षित भइन्छ । यदि कसैलाई संक्रमण भएको पाइए हडबड नगरी स्थिर भएर चिकित्सकको सलाहमा निर्जन बस्ने र अरुलाई सर्न गए आफु निको हुने भ्रममुक्त रही कसैलाई सर्न नदिन सतर्कता अपनाउनु पर्दछ । रोगको संक्रमित वा शंकित व्यक्तिलाई किन १५ दिन निर्जन सम्पर्क बिहिन बस्नु पर्ने भन्ने सवालमा त्यो अवधि भर कोरोना विरुद्ध शरीरले चिकित्सकले दिएकोे औषधि सेवनगरी रोगप्रतिरोधी शक्ति हासिल गरी रोगमाथि विजय प्राप्त गर्न समय लागेको हुन्छ ।
कोरोना विशेषगरी धेरै उमेर ढल्केका, दिर्घरोगी र स्वास्थ्य बराबर खराब रहनेहरुमा बढी आक्रामक हुन सक्दछ तर जोकोहीलाई पनि उत्तिकै जोखिम नहोला भन्न सकिन्न । ज्वरो र खोकी लाग्ने सुरुआती लक्षणले छाती दुख्ने मौसम फेरबदलका बेला रुघाखोकी सामान्य बिसन्चो जस्तो ढंगको व्यवहार गरिंदा रोग छिप्पिने आशंका रहन्छ, तसर्थ बेलैमा ढीला नगरी तदरुकता अपनाउनु बुद्धिमानी हुन्छ ।
दैवीशक्तिको आडभरोसामा झारफुकको उपचार तर्फ लाग्नु वा अलौकिक चमत्कारको आशा गर्नु दक्षिण कोरियाको प्रार्र्थनासभाका सहभागीहरु संक्रमित हुन पुगेका तितो सत्यको पुनरावृत्ति हुन जान्छ । विनाशकारी भूकम्प २०७५को घटनामा काठमाडौंको कुनै धार्मिक भेलामा ईश्वरीय प्रार्थनाले रक्षा गर्ने भ्रान्तिमा टार्न सकिने मृत्युलाई उपेक्षा गर्दाको अप्रिय घटना पनि सान्दर्भिक ठहर्छ । अन्यथा प्रकोपलाई न्यूनिकरण गर्न असम्भव छैन, दृढ ईच्छा शक्ति र उच्च मनोबलको कुनै सीमा हुदैंन ।