Logo

ऋषि धमलाको घोषणा : सरकारले आवश्यक ठाने क्वारेन्टाईनको लागि घर दिन तयार छु



काठमाडौं, ९ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले कोरोनाको सन्त्रास नेपालमा पनि परेको सुनाउँदै सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति धमलाले यस्तो बताएका हुन् ।

उनले भाडावाला सरोकार समाज नेपालले चालेको कदम साहसिक भएको बताउँदै आफ्नो यसमा पूर्ण साथ र समर्थन रहेको पनि विश्वास दिलाए । ‘हामी सम्पूर्ण नेपाली एकजुट भएर भाइरस नियन्त्रण तथा रोकथामको लागि लड्नुपर्छ । अहिलेको समय भनेको एकजुट भएर अघि बढ्ने समय हो । अहिलेसम्म नेपाल कोरोना मुक्त छ । यसप्रति म खुशी छु ।’

नेपाल प्रवेश हुने सम्पूर्ण नाकामा तत्काल रोक लगाउनु आवश्यक रहेको पनि धमलाले आवश्यकत्ता औंल्याए । उनले कोरोनाका कारण नेपालका सम्पूर्ण क्षेत्रका कार्यविधिहरु ठप्प रहेको सुनाउँदै त्यसकारण व्यापारी र घरभाडा लिएर बसेका मानिसहरुको मर्का बुझेर तत्कालै तीन महिनाका लागि घरभाडा मिनाहा हुनुपर्ने भनेर उठेको आवाजमा आफ्नो पनि सहमति रहेको सुनाए ।

घरधनीहरु र व्यावसाय गर्ने व्यक्तिहरुले बैंकबाट लिएको ऋणमा समेत विशेष सहुलियत दिनुपर्ने धमलाको भनाई छ । उनले भने,‘म सरकारलाई यो विषयप्रति गम्भिर हुन आग्रहसमेत गर्दछु ।’ उनले कोरोनाको कारण मुलुक सेमि–लक डाउनको अवस्थामा पुगेकोले व्यापार तथा व्यवसायीहरुपनि मर्कामा परेको सुनाए ।

सरकारले घरभाडा मिनाहा गराउने सवालमा गम्भिर रुपले प्रस्तुत भए यसले विश्वमै सकारात्मक छाप छोड्न सक्ने पनि धमलाको भनाई छ । उनले भने,‘मेरो पनि काठमाडौंको रानीबारीमा छ, घर क्वारेन्टाइनका लागि उपयुक्त छ भने, म दिन तयार छु ।’

सरकारले विपत्तिको अवस्थामा अहिले जे जति कदम चालेका छन् ती सबै सराहनीय रहेको पनि धमलाको भनाई छ । ‘म सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सचेत भइ सेल्फ क्वारेन्टाइनमा बस्न आग्रहसमेत गर्दछु ।’ आफू अहिलेसम्म जनताको पक्षमा काम गर्दै आएको सुनाउँदै भोलिका दिनमा पनि यो कार्यलाई निरन्तरता दिने पनि धमालको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्