काठमाडौं,चैत ११ । सरकारले कोरोना भाइरसको जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना महामारी नियन्त्रणमा नआएसम्म विदेश भ्रमणमा नजान आइतबार जनप्रतिनिधि र कर्मचारीलाई निर्देश गरेको हो। ‘कोरोना नियन्त्रणमा व्यक्तिगत, सामूहिक र संस्थागत सजगता आवश्यक देखिएकाले यसका लागि नेपाल सरकारबाट ठूला जमघटका कार्यक्रम नराख्ने, वैदेशिक भ्रमणमा सजगता अपनाउनेलगायत विषयमा सबै सरकारी र जनप्रतिनिधिमूलक निकायलाई जानकारी गराइसकिएको छ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ, ‘यस सन्दर्भमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्थाको निमन्त्रणामा हुने वैदेशिक भ्रमणमा सहभागिता जनाउन जोखिमपूर्ण देखिएकाले सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीलाई कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म विदेश भ्रमणका कार्यक्रम अघि नबढाउन अनुरोध छ।’ अब कोरोना महामारी नियनन्त्रणमा नआएसम्म नेपालका कुनै पनि तहबाट विदेशमा हुने भ्रमण रोकिने आजको नागरिक दैैनिकमा खवर छ ।