काठमाडौँ, चैत ११ । कोरोना त्रासले खल्बलिएको एलपी ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि बजारमा ग्यास सहज थिएन ।
मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएको थियो तर नेपाल ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानमा रिटेल आउटलेट अर्थात् रिटेल काउन्टर सञ्चालन गरेपछि सहज बन्दै गएको हो ।
आइतबारदेखि रिटेल आउटलेटबाट ग्यास वितरण गरेपछि उपभोक्ताले सहज ग्यास पाएका हुन् । सोमबार अनामनगरमा वितरण गरिएको नेपाल ग्यास सहज वितरण भएको छ । नेपाल ग्यासको सिलिन्डर लिएर आउने सबैले ग्यास पाएका छन् ।
उपत्यकामा २२ स्थानबाट विभिन्न ग्यास वितरण भएको छ । रिटेल आउटलेटबाट करिब ३५० सिलिन्डर दैनिक वितरण गरिएको छ । व्यवस्थित लाइन र ग्यास लिने उपभोक्ताको परिचय खुल्ने विवरण राखिएको छ । वितरणका बेला सबै उपभोक्तासँग परिचय खुल्ने कागजात मागिएको थियो । परिचयपत्रबिना ग्यास वितरण नगरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।