एजेन्सी, ११ चैत्र । इटालीबाट आएकी एक महिला मस्कोस्थित क्वारेन्टाइनमा राखिएकी थिइन् । कोरोना भाइरसको संक्रमणका कारण रुसले युरोपेली युनीयनलगायत संक्रमित मुलुकबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्दै आएको थियो । ती महिलापनि मार्चको पहिलो हप्तायता क्वारेन्टाइनमा राखिएकी थिइन् । उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भेटिएको थिएन । तैपनि आफूलाई क्वारेन्टाइनमा राखेकोमा असन्तुष्ट थिइन् ।
ती महिला मौका छोपेर भागिन् । उनी नङ काट्न सैलुनमा पुगिन् । सैलुनको कामदारसँग आफू इटालीबाट आएपछि परीक्षणबाट भाइरस नदेखिंदा पनि क्वारेनटाइनबाट राखेपछि भागेको सुनाइन् । उनले यसलाई बहादुरी ठानेकी थिइन् । तर, सैलुनका कामदारले तत्काल प्रहरीलाई खबर गरे । महिला समातिइन् । उनलाई कारबाहीसहित पुनः क्वारेन्टाइनमा राखिएको छ ।- तासबाट