Logo

कोरोना भाइरस संक्रमित तेस्रो व्यक्तिसँग विमानमा आएका देखि सम्पर्कमा पुगेका सबैको खोजी



काठमाडौं, १२ चैत्र । दुबईबाट ५ चैत्रमा काठमाडौं उत्रिएका धादिङ घर भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पत्ता लागेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार शुरु गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत संक्रमितसँग सम्पर्कमा आएका सबैको लगत संकलन अगाडि बढाइएको बुझिएको छ ।

५ चैत्रमा उनी आएको विमानमा रहेका देखि उनले यात्रा गरेको सवारी साधन, घर र गाउँबारे समेत सरकारले जानकारी संकलन गर्न थालेको छ । संक्रमितको परिवारका सदस्यलाई आइसोलेनमा बस्न भनिएको र सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई पनि खोजेर चेकजाँच गर्ने तयारी अगाडि बढाइएको बुझिएको छ । स्थानीय निकाय देखि प्रहरी समेत यसमा परिचालित भइसकेको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ । यसका लागि तत्काल बैठक बसेर काम बढाइएको हो ।

कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति ५ चैत्रमा दुबईबाट काठमाडौं आएका थिए । उनी धादिङ समेत पुगेको पत्ता लागेको छ । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेको र पछि काठमाडौं रिफर गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्टमा संक्रमण भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्