काठमाडौं, १२ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख कटेको छ । संक्रमित भई मृत्यु हुनेको संख्या २० हजार नजिक पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ४ लाख ३६ हजार २४ पुगेको छ । मृतकको संख्या १९ हजार ६ सय ३० पुगेको छ । संक्रमणमुक्त भएकाको संख्या १ लाख ११ हजार ८ सय ७८ पुगेको छ ।
अहिलेसम्मको तथ्यांकमा संक्रमित संख्यामा चीन नै अगाडि छ । चीनमा ८१ हजार २ सय १८ संक्रमित भइसकेका छन् । मृतकको संख्यामा चीन इटाली र स्पेनपछि तेस्रो स्थानमा छ । चीनमा ३ हजार २ सय ८१ को मृत्यु भइसकेको छ । इटालीमा ६ हजार ८ सय २० र स्पेनमा ३ हजार ४ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।
संक्रमितको संख्यामा इटाली दोस्रो स्थानमा छ । इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित छन् । तेस्रो स्थानमा उक्लिएको अमेरिकामा ५४ हजार ९ सय ७३ संक्रमित छन् । स्पेनमा ४७ हजार ६ सय १०, जर्मनीमा ३४ हजार ९, इरानमा २७ हजार १७, फ्रान्समा २२ हजार ३ सय ४, स्वीटजरल्यान्डमा १० हजार ४ सय ५६, दक्षिण कोरियामा ९ हजार १ सय ३७, बेलायतमा ८ हजार ७७, नेदल्यान्डमा ५ हजार ५ सय ६० जना संक्रमित भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या द्रुत गतिमा बढिरहेको छ । चीनमा नियन्त्रणतर्फ गएको छ ।
दक्षिण एशियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा छन् । त्यहाँ एक हजार संक्रमित भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । पाकिस्तानपछि भारतमा ५ सय ६२ संक्रमित भएका छन् । भारतमा १० जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । श्रीलंकामा १०२, अफगानिस्तानमा ७९, बँगलादेशमा ३९, मालदिभ्समा १३, नेपालमा ३ र भुटानमा २ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् ।