Logo

विदेशबाट घर फर्केकाको तथ्याङ्क सङ्कलनकार्य तिव्र



तनहुँ, १४ चैत्र । शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाअन्तर्गत १२ वडामध्ये आठ वडामा घर घरमा पुगी विदेशबाट घर फर्केका व्यक्तिको तथ्याङ्क लिने गरेको छ । बाह्र जनाको टोली घरघरमा खटाएर उनीहरुको तथ्याङ्क लिने कार्य गरिएको हो ।

आठ वडाका ७८ जनाको घरमा पुगी तथ्याङ्क लिइएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । नगरपालिकाका बाँकी रहेका चार वडाको पनि टोली परिचालन गरी विदेशबाट फर्केकाहरुको तथ्याङ्क लिने कार्य गरिने उनले बताए । उनले भने, ‘केही व्यक्ति स्वयं सम्पर्कमा आएका छन् भने कसैको घरमा नै पुगेर तथ्याङ्क लिने कार्य गरिएको छ ।’ उनका अनुसार शुक्लागण्डकी–३ मा रहेका आठ जना स्वयं सम्पर्कमा आएका थिए ।

नगरपालिकाको सबैभन्दा बढी वडा नं ६ मा २० र वडा नं १० मा १७ जना छन् । त्यसैगरी वडा नं १२ मा सात,ं वडा नं ८मा ६, वडा नं १ मा ६, वडा नं ९ मा पाँच र वडा नं ४ मा चार जनालगायत विदेशबाट घर फर्किएका नेपालीको खोजी गर्दै कसैलाई स्वास्थ्य केन्द्रमा त कसैलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको नगरपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले जानकारी दिए । उहाँका अनुसार दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास स्वास्थ्य केन्द्रमा छ जना र अन्यलाई निगरानीका लागि आआफ्नो घरमा राखिएको छ ।

उनीहरुले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि त्यसको व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । कोरोना सङ्क्रमितको स्वास्थ्य परीक्षणका लागि डा प्रतीक्षा आले र डा इला थापालाई तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । रासस



प्रतिक्रिया दिनुहोस्