म्याग्दी, १५ चैत : कोभिड–१९ रोकथामका लागि म्याग्दीमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपलगायत मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर शनिबारदेखि स्वास्थ्य परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।
“शङ्का र सन्त्रास हटाउन विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएका हौँ”, उनले भने, “माउन्ट एभरेष्ट आवासीय माविको हिलसाइडस्थित पुरानो भवनमा १०, न्यू वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० श्यया क्षमताको क्वारेन्टाइन बनाइएको छ ।”
रघुगङ्गा गाउँपालिकाले आठ वडामा पाँचका दरले ४० श्यया क्षमताको क्वारेन्टाइन बनाएको छ । मालिका गाउँपालिकाले दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविको भवनमा सात श्यया क्षमताको क्वारेन्टाइन बनाएको छ । बेनीको क्वारेन्टाइनमा राखिनेका लागि बेनी नगरपालिकाले खाना खुवाउने जनाएको छ । क्वारेन्टाइनमा राखिएकालाई ज्वरो, रुघा, सुक्खा खोकीजस्ता लक्षण देखिएमा बेनी अस्पतालको आइसोलेसनमा राखेर नमूना परीक्षण गर्न काठमाडाँै पठाइने भएको छ । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिए थप उपचारका लागि काठमाडौँ र नदेखिए घर पठाइनेछ । वडा कार्यालयले हालसम्म ८० जनाको लगत सङ्कलन गरेका छन् । विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न भने पनि अटेर गरेपछि क्वारेन्टनलाइनमा राख्न थालिएको हो ।