काठमाडौँ, चैत १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस विरुद्धको लडाइँमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङलाई पत्र लेखी सो आग्रह गरेका हुन । कोरोना विरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै अध्यक्ष प्रचण्डले सोही खालको सहयोग नेपाललाई पनि गर्न आग्रह गरिएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।
अध्यक्ष प्रचण्डले तीन दिनअघि सो पत्र पठाएको सचिवालयले आइतबार जानकारी दिएको छ । कोरोना महामारीविरुद्ध लड्न पर्याप्त मेडिकल सामग्री आवश्यक रहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसबेला चीनले गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने पत्रमा उल्लेख गरेका छन् । (गोरखापत्रबाट)