Logo

कोरोनाको आशंकामा आइशोलेशनमा राखिएका युवकको मृत्यु, रिपोर्ट साँझ आउने



ललितपुर, १७ चैत्र । कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएका युवकको मृत्यु भएको छ । धादिङ खनियाँ गाउँपालिका ४ का ३५ वर्षीय युवक ज्वरो आएपछि आकस्मिक रुपमा पाटन अस्पताल ल्याइएका थिए ।

पाटन अस्पतालमा भर्ना गरी कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको रिपोर्ट साँझ आउने बुझिएको छ । युवक १४ चैत्रमा भारतबाट घर फर्किएका थिए । उनी घरमै बसिरहेका थिए । तर, अचानक ज्वरो आएपछि आकस्मिक रुपमा धादिङबाट अस्पताल ल्याइएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले युवकको मृत्यु भएको पुष्टि गरिन् । उनले रिपोर्टर्स नेपालसँग भनिन्, ‘उहाँको निधन भएको छ तर कोरोना हो होइन रिपोर्ट आउन बाँकी छ ।’ साँझ रिपोर्ट आएपछि मात्र जानकारी हुने उनको भनाई छ ।

नेपालमा पाँच जना संक्रमित भेटिएपनि अहिलेसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । संक्रमित गत हप्ता चारजना बढेपनि यो हप्ता कसैलाई पनि संक्रमण भएको पत्ता लागेको छैन ।



प्रतिक्रिया दिनुहोस्