काठमाडौं, १७ चैत्र । भारतका विभिन्न स्थानमा स्वदेश फर्किएका नेपाली नागरिकहरु अलपत्र परेका छन् । धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँदिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली अलपत्र अवस्थामा रहेका छन् ।
धार्चुलामा सीमामा रोकिएकामध्ये कतिपयले ज्यान जोखिममा राखेर ट्युबमा बसी नदी पार गर्न थालेको खबर आएको छ । उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन थालेका छन् । कतिपयले सीमामा बसेर देश फर्कन नारावाजी गर्नुपर्ने भन्दै प्रश्न गरेका छन् ।
भारतमा रहेका केही नेपालीले आफूहरु नेपाल जान चाहेको तर जाने व्यवस्था नभएकाले अलपत्र परेको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कति संख्यामा नेपालीहरु अलपत्र परेका छन् भन्नेबारेमा एकिन तथ्यांक नभए पनि धार्चुलामा कम्तिमा पनि पाँचसय नेपाली अलपत्र अवस्थामा रहेको दार्चुला प्रशासनले जनाएको छ ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुले ‘आफ्ना जनता फिर्ता ले’ ‘नेपाली नाका फिर्ता गर’ भन्दै लगातार नाराबाजी गरिरहेको भिडियो सार्वजनिक भएको छ । उनीहरुले आफ्नै देश फर्किन पनि यसरी नाबाजी गर्नुपर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनीहरुले नेपाल फर्किन पाउनुपर्ने माग गरेका छन् ।
उता, भारतमा रहेका नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन सरकारले पुनः अनुरोध गरेको छ । अन्तर्रा्ष्ट्रिय सीमा बन्द भएको र चैत २५ सम्म लकडाउन लम्बिएकाले भारतका विभिन्न भूभागमा रहेका नेपालीहरूलाई यथास्थानमै रहन सरकारले आग्रह गरेको छ ।
कोरोनाले विश्वव्यापी महामारीको रूप लिइसकेकाले आफू बसेको ठाउँ छाडेर बाहिर निस्कँदा झनै जोखिम बढ्ने सरकारको ठहर छ । रोजगारीको सिलसिलामा भारत पुगेका र काम ठप्प हुँदा अलपत्र रहेका नेपालीलाई त्यहीँको सरकारले व्यवस्था गर्नुपर्ने पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्क छ ।
कोरोना सङ्क्रमण देशभित्रै फैलिइरहेकाले अहिलेको परिस्थितमा भारतबाट उद्धार गरेर ल्याउने अवस्था नरहेको, बरु त्यहीँको सरकारलाई अनुरोध गरेर व्यवस्थापनका लागि आग्रह गरिएको ज्ञवालीको भनाइ छ ।- रेडियो एनआरएन, सामाजिक सञ्जालको पोष्ट र विभिन्न सञ्चारमाध्यममा आएको खबरमा आधारित