Logo

स्वास्थ्यकर्मीलाई पिपिइ वितरण



दमौली, १७ चैत : तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले तीन स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाका अनुसार साभुङ स्वास्थ्यचौकी, घिरिङ स्वास्थ्यचौकी र गजरकोट स्वास्थ्यचौकीलाई पिपिइ, मास्कलगायतका मेडिकल सामग्री उपलब्ध गराइएको छ । साथै आपतकालिन अवस्थाको लागि एक जना एम्बुलेन्स चालकलाई पनि पिपिइ उपलब्ध गराइएको छ ।

कोभिड–१९ को शङ्कास्पद बिरामीको परीक्षणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रानाले जानकारी दिए ।

गाउँपालिकाले कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि तीन वटा स्वास्थ्यचौकीमा नौ शैय््याको आइसोलेशन कक्ष निर्माण गरेको छ । विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनलाई तीव्रता दिइएको बताउँदै रानाले उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको जानकारी दिए । विगत एक महिना यता विदेशबाट फर्किनेहरुको विवरण सङ्कलनका लागि वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, टोल विकास संस्थालाई परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्