ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नगरलाई कोरोना भाइरसको संक्रमणमुक्त राख्न सबै किसिमका साधन र स्रोत परिचालन गरिएको बताएका छन् । आज हाम्रो युवा समाजका विवेकुमार कार्कीलगायतसँगको छलफलमा उनले नगरलाई जोखिमबाट बचाउन सबैको साथ र सहयोगको आग्रह समेत गरे ।
‘हामी सबै मिलेर कोरोना भाइरसको जोखिमबाट नगरलाई मुक्त राख्नुपर्छ,’ त्यसमा युवाहरुको विशेष साथ र सहयोग अनिवार्य छ, मेयर श्रेष्ठले भने । संकटको घडीमा लकडाउनको पालना गर्न समेत आग्रह गरे । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन भन्दै नगरपालिकाले सम्बन्धित निकाय र अस्पतालहरुसँग समन्वय गरी आवश्यक व्यवस्था गरिसकेको बताए ।
उनले स्थानीय तहमा जोखिम रोकथामका लागि भएका सकारात्मक पहलको प्रशंशा गर्दै सबै एकजुट भई संकटको घडीमा नमूना बनेर देखाउन आग्रह गरे । सम्भावित जोखिमलाई दृष्टिगत गरी नगरपालिकाभित्रको किष्ट अस्पतालमा बेडहरु तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले भने, ‘अस्पतालमा बेड देखि एम्बुलेन्स तयारी अवस्थामा छन् ।’
विदेशबाट आएकाहरुको समेत तथ्यांक संकलन गरी घरमै बस्न भनिएको बताए । विदेशबाट पछिल्लो दुई हप्तामा आएकाहरुबाट समेत सहयोगको आग्रह गरे । विदेशबाट आएकाहरुको आफूले सधै सम्मान गर्ने भन्दै संकटको घडीमा आफू आफ्नो परिवार, नगर र देशलाई आफ्नो वास्तविकता भनेर सहयोग गर्न आग्रह गरे ।
श्रेष्ठले नगरका सबै टोल र गाउँहरुमा स्यानिटाइज भइरहेको जानकारी गराए । यसमा जनप्रतिनिधि र स्थानीय युवाहरुको ठूलो सहयोग भएकोमा धन्यवाद ज्ञापन गरे । श्रेष्ठले हाम्रो युवा समाजलाई जोखिम रोकथामका लागि स्यानिटाइज गर्ने देखि सचेतनामा सक्रिय भएको भन्दै प्रशंशा गरे ।
राहतका लागि तयारी समेत गरिएको मेयर श्रेष्ठले बताए । बजारमा कालोबजारी हुन नदिन सामानको मूल्यसुची देखि परिणाम समेतको तथ्यांक संकलन गरिएको बताए । यसमा आफू स्वयं सक्रिय भएको समेत बताए ।
भेटमा नेपाली काँग्रेसका युवा नेता समेत रहेका हाम्रो युवा समाजका विवेककुमार कार्कीले नगरपालिकालाई कोरोना भाइरसको संक्रमणबाट मुक्त राख्न एकजुट भएर लाग्नुपर्ने बताए । यो घडीमा हामी सबै नेपाली हौं र हामी सबै महालक्ष्मी नगरवासी हौं भनेर कोरोनासँगको युद्धमा विजय हासिल गर्नुपर्ने बताए ।