काठमाडौं, १७ चैत्र । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले घोषणा गरेको लकडाउन नेपालीहरुको हितको लागि भएको भन्दै सरकारको यो कदमको प्रशंसा गरे । उनले भने, सरकारले घोषणा गरेको यो कदम उपयुक्त कदम हो । यो सराहनीय । हामी जनता पनि अत्यावश्यकबाहेक घरबाहिर नजाऔं । यो नै हाम्रो प्रथम दायित्व हो । यो दायित्वलाई हामीले कुनैपनि हालतमा निर्वाह गर्नुपर्छ । लकडाउनको सातौं दिन प्राईम टाईम्स टेलिभिजनले कोरोनाको महामारी, प्राइमको खबरदारी कार्यक्रम जारी राखेको छ । उक्त कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
कोरोनाको महामारी प्राइमको खबरदारीलकडाउन सातौं दिन
Posted by Prime Times Television, Nepal on Monday, 30 March 2020
उनले भने,”सबभन्दा ठूलो औषधी भनेको लकडाउन नै हो । दोस्रो कुरा, कोरोना भाइरसको संक्रमण भएकाहरुको उपचारको लागि खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति गराउनु हो । सरकारले जतिसक्दो चाँडो चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई चाहिने पिपिईको व्यवस्था गर्नुपर्छ । हुन त सरकारले केही कदम चालिसकेको छ । ७ वटै प्रदेशमा कोरानो परीक्षण हुनुपर्छ । सरकारले त्यसको व्यवस्था गर्नुपर्छ । र, अस्पतालहरुले पनि ज्वरो, रुघाखोकी लागेकाहरुलाई नजाँच्ने गरेको कुरा आएको छ । निजी अस्पतालहरुले पनि उनीहरुको उपचार गर्नुपर्छ ।”
लकडाउनको ठूलो मारमा परेका दैनिक ज्यालादारीमा काम गर्नेहरुको लागि सरकारले विशेष राहतको प्याकेज घोषणा गर्नुपर्ने महतोको तर्क छ । उनले उनीहरुको लागि खानाको व्यवस्था गरिनुपर्ने बताए । काम गरेमात्रै खान पाउनेहरुको लागि सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा महतोको जोड छ । उनले भने,”समयमै पीडित जनताले राहत पाउनुपर्छ । घोषणा गरेरमात्रै हुँदैन् । जनता भोको हुनु भएन् ।”