Logo

सीमाको पुलमा रोकिएपछि ज्यान जोखिममा राखी पौडदै महाकाली पार (तस्बिरसहित)



काठमाडौं, १७ चैत्र । कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन र सीमा बन्दका कारण नेपाल-भारत सीमाको पुल बन्द गरिएपछि भारततर्फ अड्किएका नेपालीहरु महाकाली नदीमा हाम फाल्न थालेका छन् । तीन दिन देखि रोकिएपछि दुईजनाले नदीको खतरा बिर्सेर फाल हालेर नेपालतर्फ पुगे । उनीहरुलाई तत्काल नेपालतर्फको सुरक्षाकर्मीले नियन्त्रणमा लिए ।

धार्चुला र दार्चुलाको बीचमा रहेको महाकाली नदीको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा दुईजना नेपाली महाकालीमा पौडदै र ट्युबमार्फत देश फर्किइरहेका छन् । उनीहरुमध्ये एकजना पारी तरेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन लागेको दृश्य समेत छ ।

यसैगरी, दार्चुलातर्फ आउन नपाएका नेपालीले सीमापारी नारावाजी गरेको भिडियो सार्वजनिक भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुसुल गर्नुपर्ने यो के हो ?’ उनले आजै ट्वीटमार्फत् प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन माग गरेका छन् ।

तस्बिर स्रोतः कृष्ण महराको फेसबुक



प्रतिक्रिया दिनुहोस्