Logo

सङ्कटमा निजी क्षेत्रको स्वस्फूर्त सहयोग पहिला बाँचौँ, अनि व्यवसाय



काठमाडौँ, १८ चैत । कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको बन्दाबन्दी (लक डाउन) को अवधिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर स्वस्फुर्त सहयोग गर्न थालेका छन् ।

यहाँको निजी क्षेत्र उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, होटल व्यवसायीले आ—आफ्नो व्यापार व्यवसाय पूर्णरूपमा रोकेर लक डाउनलाई साथ दिएका छन् भने सामाजिक उत्तरदायित्वस्वरुप आफ्नो क्षमता अनुसारको सहयोगसमेत गरेका छन् । विशेषगरी काम गरी खाने निम्न वर्गका समुदायलाई लक डाउनले असर पारेका कारण उनीहरूलाई खाद्यान्न, सरसफाइका सामग्री सहयोग गरेका छन् । यस्तै आ—आफ्नो वडामा सरकारी निकायसंग सहकार्य गरी क्लोरिन छर्कने काममा पनि साथ दिएका छन् ।

सुर्खेत उद्योग बाणिज्य संघले लक डाउनमा निम्न बर्गको अवस्था हेरेर सोमवार वीरेन्द्रनगर ४ र ६ मा खाद्यान्न सहयोग गरेको छ । संघका महासचिव लक्ष्मण कँडेलले व्यवसायी मिलेर करिव पाँच क्विन्टल चामल, तीन क्विन्टल दाल, साबुन वितरण गरिएको बताएका छन् । उनले महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण नबढोस् भनेर सरकारले लगाएको लक डाउनलाई निजी क्षेत्रले पनि पूर्ण समर्थन गर्दै आफ्नो व्यवसाय थाती राखेको जानकारी दिएका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा दैनिक करिव २० करोडको कारोबार हुने गरेको तर लक डाउनले अवस्था राम्ररी पालना भएको छ । बाँच्नु नै पहिलो विकल्प भएको उनको भनाइ छ । बाँचेपछि पेशा व्यवसाय गर्न सकिने भएकोले सरकारले गरेको लक डाउनको पूर्ण पालना गर्न उनले अपिलपनि गरेका छन् ।

यसैगरी यातायात व्यवसायीले पनि सामाजिक उत्तरदायित्वलाई सम्झेर लक डाउनको अवधिमा सहयोग कार्य जारी राखेका छन् । अलपत्र यात्रुलाई प्रदेश सरकारको आग्रहमा गन्तव्यमा पु¥याउनदेखि खाद्य सामग्री लैजान यातायातका साधन उपलव्ध गराएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्