Logo

कोरोना भाइरस संक्रमित चारै जनाको स्वास्थ्यमा सुधार



काठमाडौं, १८ चैत्र । देशभित्र भेटिएका कोरोना भाइरसका संक्रमितमध्ये हाल चारजना उपचाररत छन् । दुईजना उपत्यकाभित्र र दुईजना बाहिर उपचार गराइरहेका हुन् । चारै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका दुईजना सामान्य अवस्थामा पुग्दैछन् । दुवैलाई ज्वरो नभएको र सामान्य खोकी पनि निकै कम भइसकेको बुझिएको छ । दोस्रो संक्रमित फ्रान्सबाट आएकी किशोरीलाई पूर्ण स्वस्थ हुने अपेक्षासहित अर्को हप्ताभित्र डिस्चार्ज गर्ने सम्भावना भएको टेकु अस्पताल स्रोतले जानकारी दिएको छ । अर्का उपचाररत युवक पनि अर्को हप्ताभित्र नै डिस्चार्ज हुनसक्छन्, विश्वस्त स्रोतले भन्यो ।

यसैगरी धनगढीमा उपचार गराइरहेका युवक पनि सामान्य हुँदै गएका छन् । युवकले पनि आफू सामान्य हुँदै गएको बताएका छन् । उनलाई ज्वरो नभएको र खोकी पनि नरहेको बताएका छन् । ती युवक दुबईबाट नेपाल फर्किएका हुन् ।

बाग्लुङमा भेटिएकी किशोरी पनि पोखरामा उपचार गराइरहेकी छिन् । उनको अवस्था पनि सामान्य बन्दै गएको छ ।

यसैगरी संक्रमितसँग सम्पर्कमा आएका सबैलाई आइशोलेशनमा राखिएको छ । जसमध्ये परिवार, आफन्त र सँगै प्लेनमा आएकाहरु छन् । तीमध्ये भेटिएका जतिलाई आइशोलेशनमा राखिएको छ । कतिपयलाई टेष्ट गर्दा नेगेटिभ भेटिएको छ ।

९ माघमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएपनि त्यसयता दुई महिना कुनैपनि संक्रमित भेटिएका थिएनन् । ९ चैत्रमा दोस्रोपटक संक्रमण फेला पर्यो । त्यसपछि गत हप्ता एकैपटक चारजना सक्रमित भेटिए ।

संक्रमितमध्ये दुईजना युरोप, दुईजना संयुक्त अरब इमिरेट्स र एकजना चीनबाट फर्केका नेपाली हुन् । दुईजना वैदेशिक रोजगारीबाट फर्केका हुन् भने तीन जना अध्ययनका सिलसिलामा विदेश गएका विद्यार्थी हुन् ।

संक्रमितबारे
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्