काठमाडौँ, १८ चैत । कोराना भाइसरको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । क्षणभरमा नै कोरोना भाइसरबाट मर्नेको संख्यामा वृद्धि भइरहेको परिस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोनाविरुद्ध लड्नका लागि राज्यको अनावस्यक खर्च घटाएर राष्ट्रपतिदेखि सांसदसम्मको तलव भत्तामा २५ प्रतिशत कटौती गर्न सरकारलाई सुझाव दिएका छन् ।
उनले विश्वकै अर्थतन्त्र संकुचन भइरहेका बेला रेमिटेन्समा धानिएको नेपालको खर्च व्यवस्था धान्न अब समस्या पर्ने भएकाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र प्रदेश सम्मका सांसदको तलव भत्तामा २५ प्रतिशतले कटौती गरी कोरोना नियन्त्रणमा लगाउनुपर्नेमा जोड दिएका छन् ।
अर्थतन्त्र झन धारासायी भएर सवै क्षेत्रमा नेपालको अर्थतन्त्र संकुचन हुने बताउदै उनले अहिले संघीय र प्रदेशका माननीयहरुलाई दिएको ६ करोड रकम पनि फिर्ता गरी संक्रमण नियन्त्रमा आवस्यक औजार र औषधीमा खर्चगर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । राज्य चलाउनेहरु सजग नहुने र गलत प्रबृतिलाई मात्रै अंगाल्ने हो भने देश झन तल जाने लोहनीले बताएका छन् ।