सिन्धुली, चैत १८ ।सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।
डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुव्र्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले बताए ।
“अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ”, उनले भने, “यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु”,।
यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह समेत गरेका छन् । रासस