काठमाडौं, १८ चैत्र । अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकलाई चाटर्ड विमानबाट अमेरिका लाँदैछ । मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमानबाट अमेरिकाको वासिंटन डिसीको उडान भर्ने भएको हो । त्यसका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।
नेपाल सरकारसँग समन्वय गरेर पोखरा र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याउनका लागि यात्रा प्रबन्ध गर्न सफल भएको र अरुलाई पनि ल्याउने प्रयास गरिरहेको काठमाडौंस्थीत अमेरिकी दूतावासले जनाएको छ । नेपाल पर्यटन बोर्ड र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं ल्याउने वातावरण दूतावासले बनाएको हो ।
दूतावाले अमेरिकी विदेशमन्त्रालयसँग चार्टड फ्लाइटका सन्दर्भमा समन्वय गरिरहेको र पहिलो उडान मंगलबार मार्च ३१ मा काठमाडौंबाठ वासिंटन डिसीका लागि हुने दूतावासको भनाई छ । दोश्रो उडान अप्रिल २ बिहिबार हुने दूतावासले जनाएको छ ।
यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेशमन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ । तर यी उडानबाट अमेरिका आउनका लागि हरेक अमेरिकी नागरिकले डीएस ५५२८ नामको फर्म भरेर दूतावासमा बुझाउनुपर्ने भनिएको छ ।
दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई सुरुमा अर्को फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ ।