काठमाडौ, १८ चैत्र । हजारौं नेपालीहरु नेपाल-भारत सीमामा रोकिएका छन् । पूर्व देशि पश्चिम सम्मका मुख्य नाकाहरुमा नेपालीहरु रोकिएपछि अलपत्र परेका छन् । धाचुर्लाबाट दार्चुला आउँदै गरेका नेपालीहरु प्रवेश गर्न नपाएपछि महाकालीमा ट्युब हालेर र पौडी खेलेर सीमा पार गरेको दृश्यले धेरैलाई गम्भीर बनायो ।
सीमामा नारावाजी गर्न थाले । हजारौं नेपाली भारतमा काम गरेर र अन्य कामबाट फर्किएर सीमामा रोकिएका छन् । यसरी रोकिएपछि नेताहरुले सरकारलाई उपयुक्त विकल्प सोचेर प्रवेश गराउन आग्रह गरेका छन््् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै देश छिर्न पनि नारावाजी गर्नुपर्ने भनी प्रश्न उठाएका छन् । उनले तत्काल प्रवेश गराएर विकल्प खोज्न भने ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले नागरिकलाई रोक्न नहुने र प्रवेश गराएर चेकजाँच गर्ने देखि क्वारेन्टाइनमा राख्नुपर्ने बताइन् । अरु देशले आफ्ना नागरिकलाई प्लेन चाटर्ड गरेर भएपनि लगेको स्मरण गराउँदै सीमामा आएका आफ्नै नागरिकलाई रोक्नु न्यायोचित नहुने बताइन् । उनले भनिन्, कुनैपनि नेपालीलाई सीमामा रोक्नु हुँदैन, बरु चेकजाँच राम्ररी गरेर क्वारेन्टाइनमा राख्नुपर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पनि आफ्नो देशमा आउन पाउनु नेपाली जनताको अधिकार हो भन्दै नाकाहरुमा अलपत्र परेका नागरिकहरु छन् भने राज्यले उनीहरुको लागि केही गर्नुपने बताए । उनले भने, त्यसैको लागि त राज्य चाहिने हो नि । उनीहरुलाई आउनै नदिने होइन । उनीहरुको रेकर्ड राखेर क्वारेन्टाइनमा राख्नुपर्छ ।
सरकारले एक हप्ता अघि लकडाउन गरेर सीमा बन्द गरेपछि हजारौं नेपाली सीमापारी अलपत्र छन् । सरकारले उनीहरुको व्यवस्था गर्ने तयारी गरेको भनिएपनि कुनै कदम चालिएको छैन ।
Photo Source: Krishna Mahar Facebook Page