Logo

स्थानीयको दबाब पछि पावार हाउस र सुरुङ बाहेकको काम रोकियो



काठमाडौँ, १९ चैत । दोलखाको विगु गाउँपालिका –१ स्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरस प्रकोपले खासै प्रभाव नपारे पनि स्थानीयको दबाबले रोकिएको छ ।

बाँध लगायत हेडवर्कसको प्राविधिक परिक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा कोरोना भाईरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेकोमा स्थानीयको चर्को दबाबले काम रोक्न पुगेको हो । आयोजनामा मुख्य कामदार तथा प्राविधिकहरू चिनिया, इटलियन र भारतीय नागरिक रहेको र उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकोले समस्या नभए पनि स्थानीयमा डरत्रास भएपछि मंगलबारदेखि रोकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिएका छन् । ‘पावर हाउस र सुरुङको क्रिटिकल काम बाहेक अन्य सबै काम सबै रोकाका छौ’ उनले बताएका छन् ।

आयोजनमा करिब चार सय जना कामदार तथा कर्मचारीले काम गरिरहेका थिए । चाइनिज कम्पनी सिनो हाइड्रोले सिभिल, अष्ट्रियन कम्पनी एन्ड्रिजले इलेक्ट्रो मेकानिकल, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले हाइड्रोमेकानिकल र अर्का भारतीय कम्पनी केईसीले सबस्टेशन तथा प्रसारण लाईनको काम गर्दै आएकोमा केईसि बाहेक अन्य तीनवटै कम्पनीले कामदारलाई आयोजनामा काम लगाइरहेका थिए ।

आयोजनामा कोरोना संक्रमण नफैलियोस भन्दै गत ११ गतेदेखि आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिई थप सतर्कता अपनाए पनि अहिले काम रोकेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्