काठमाडौँ, १९ चैत । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् ।
कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताएका छन् ।
आफ्नै कार्यकक्षमा कुराकानी गदै कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले सीमानाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् । (रासस)