काठमाडौ, चैत १९ । वैशाख ३ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको छ। यसअघि नेपाल सरकार कोरोना रोकथाम उच्चस्तरीय समितिको निर्णय कार्यान्वयन गराउन प्राधिकरणले सम्बन्धितलाई सूचित गरेको छ। समितिले वैशाख ३ गतेसम्म बाह्य उडान बन्द गर्नु भनेको भए पनि प्राधिकरणले सोही अवधिसम्मका लागि आन्तरिक उडान पनि बन्द गराउने निर्णय गरेको छ।
बाह्य उडान बन्द हुँदा र आन्तरिक चहलपहलमा पनि कमि आउँदा आन्तरिक उड्डयन क्षेत्र पनि प्रभावित त हुने नै भयो। कोरोना संक्रमण फैलिएको करिब ३ महिनाको अवधिमा ११ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको संघको तथ्यांक रहेको छ। अहिले सबै आन्तरिक जहाज विमानस्थ्लमा नै पार्किङमा छन्। विमान कम्पनीले विमान उडाउन नपाए पनि उड्डयन प्राधिकरणलाई पार्किङबापतको शुल्क भने बुझाउनुपर्ने हुन्छ। पार्किङ शुल्क अन्तरगत १ हजार किलोको १ डलर तिर्नुपर्ने प्राधिकरणको भनाइ छ। यो ६ घण्टाका लागि तय भएको हुन्छ। मानौ आन्तरिक उडान भर्ने ट्विनेटर १७ हजार र २३ हजार किलोग्राम गरी २ प्रकारको हुन्छ। यदि १७ हजार किलोको विमान ६ घण्टा पार्किङ गर्नुप¥यो १७ डलर बुझाउनुपर्ने हुन्छ। कम्पनीले जहाजको तौल अनुसार शुल्क तिर्ने गर्दछन्।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार, यसै सम्बन्धमा प्राधिकरणलाई आन्तरिक विमान कम्पनीलाई कसरी सहुलियत दिन सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको छ। अरुभन्दा पनि प्राधिकरणले लिँदै आएको पार्किङ शुल्क छुट गर्ने सम्बन्धमा गृहकार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार, लकडाउनका कारण उडान भर्न नपाएर पार्क भएका विमानको पार्किङ शुल्क मिनाहा गर्ने सम्बन्धमा छलफल गरी सरकारलाई सिफारिस गर्ने तयारी अन्तिम चरणमा छ । अन्नपूर्ण पोस्ट्बाट