काठमाडौं, १९ चैत्र । चीनबाट ल्याउन थालिएको कोरोना भाइरस रोकथामको स्वास्थ्य सामाग्रीको टेन्डर रद्ध भएको छ । टेन्डर सम्झौता अनुसार कबुल गरेको कम्पनिले काम नगरेको भन्दै सरकारले रद्ध गरेको जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले टेन्डर पाएको कम्पनि ओबिसिआईले कबोल गरे अनुसार समयमा सामान ल्याउन नसकेकोले रद्ध गरिएको जनाएका छन् । उनले भने, अहिलेसम्म १० प्रतिशत मात्र सामान ल्याउन सकेको छ, समयमा सामान ल्याउन नसकेकाले रद्ध गरेका हौं ।
यसअघि चीनबाट सामान ल्याइएको सामान महंगो मूल्य बनाएर करोडौं अनियमितता भएको रिपोर्टर्स नेपालले खुलासा गरेको थियो । यसमा प्रमुख योजनाकारहरुबारे समेत खुलासा गरेको थियो ।
टेन्डर नै रद्ध हुनुमा यसमा मूल्य दोब्बर देखि सात गुनासम्म बढी लिनु मुख्य कारण हो । तर, सरकारले टेन्डर अनुसार समयमा सामान ल्याउन नसकेकाले रद्ध गरेको जनाएको छ ।
टेन्डर पाएको कम्पनिलाई कारबाही गरी कालो सूचीमा राखिने महानिर्देशक श्रेष्ठले बताए । १८ प्रतिशत अग्रिम रकम भुक्तानी दिइसकेकाले त्यसलाई समेत फिर्ता गर्ने प्रक्रिया गरिने बताए । उनले भने, धरौटी जफत गरी कालोसूचीमा पठाउने निर्णय गरेका छौं ।