Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो



काठमाडौँ, २० चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँका दरले घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपियाँका दरले घटाएको छ ।

निगमले निक्कै लामो समयपछि ठूलो परिणाममा एकैचोटी मूल्य घटाएको छ । बुधवार राति १२ बजेबाट लागु हुने नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ९६ रुपियाँ कायम भएको छ । डिजेल र मट्टितेल प्रतिलिटर ८५ रुपियाँ कायम भएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७५ रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

हाल बिश्वभर फैलिएको कोरोना भाइरसबाट अन्तर्राष्टिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको कारण अप्रिद एकमा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीमा घटेर आएको हुदा नेपालमा पनि घटाइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन् । उनले भने, “कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय बजारमा तेलको व्यापार घटेको र कच्चा तेलको समेत मूल्यमा गिरावत आएका कारण ठूलो परिणाममै एकैचोटी घटेको हो ।”

नेपाल र भारतबीच रहेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधी २०७१ अनुसार मूल्य समायोजन गरिएको हो । जस अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन हुदै आएको छ । निगमका अनुसार निक्कै लामो समयपछि एकैचोटी ठूलो परिणाममा मूल्य घटाइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्